Skip

News Portal

  • तीन भारतीयमा काेराेना देखिएपछि छपकैया पूर्ण रूपमा सिलबन्दी गरिँदै

    कर्णाली सञ्चार
    ८७१ पटक

    काठमाडाैं । मस्जिदमा बसेका तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रशासनले वीरगन्जको छपकैया पूर्ण रूपमा सिल गर्ने भएको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ र ३ मा पूर्ण रूपमा सिल गर्ने तयारी भइरहेको छ। उनका अनुसार यसबारे निर्णय गर्नजिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ।

    अहिले नेपाली सेनाको टोलीले सिल गर्ने क्षेत्रको अवलोकन गरिरहेको छ। सेनाले उक्त क्षेत्रकाे अवलाेकन गर्न थालेपछि उता भारतमा भने हलचल सुरू भएकाे छ । यसैबीच तीन जना भारतीयमा कोरोना भाइरसको पुष्टि भएपछि वीरगन्जवासी त्रास दखिएको छ। आइतबार नारायणी उपक्षेत्रीय अस्पतालका छेउका मेडिकल पसलहरू पनि प्राय: बन्द गरिएका छन् भने बजारमा रहेका औषधि पसलहरू पनि बन्द छन्।

    नयाँदिल्ली र उत्तर प्रदेशबाट आएका २४ जना भारतीय नागरिकहरू छपकैयाको एक मस्जिदमा बसिरहेका थिए। स्थानीयवासीको सूचनाका आधारमा प्रशासनले त्यहाँ बसेका सबैलाई परीक्षण गर्न अस्पताल ल्याएको थियो। मस्जिदमा बसेकामध्ये तीन जनामा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    उनीहरूलाई शुक्रबारदेखि नै नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ। उक्त समूहमा रहेका बाँकी भारतीयलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टानइनमा राखिएको छ। यी भारतीयहरू कहिले नेपाल आएका हुन् र कहाँ कहाँ गए भन्ने एकिन भइसकेको छैन। प्रहरीले उनीहरूको ट्राभल हिस्ट्री पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।

    नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको सरकारले पनि जनाएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित मस्जिदमा शंकास्पद रूपमा रहेका २१ जनाको परीक्षण गर्दा त्यस मध्ये तीन जनाको रिपोर्ट पोजेटिभ देखिएको जनाएको हो ।

    स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ देखिएकाहरुमा वर्ष ३७, ५५ र ४४ का पुरुषहरू रहेका छन् । कोभिड १९ को शंका लागि नारायणी अस्पताल, वीरगञ्जको आईसोलेशनमा राखि उनीरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

    उक्त परीक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिवार पुन परीक्षण गरिएको र उक्त परीक्षणबाटसमेत नतिजा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारीक फेसबुकपेज मार्फत जानकारी दिएको ।

    तीन जनाको नतिजा पोजिटिभ देखिएसँगै उनीहरुसँगको संसर्ग र उनीहरु गएको स्थानको पहिचान गर्ने कार्य भइरहेको मन्त्रालयले जनाएको छ । कोरोना लागेका तीन जना मुस्लिम धर्म प्रचारका लागि आएका भारतीय रहेको समाचारहरु सार्वजनिक भएका छन् । तर मन्त्रालयले भने कुन देशका नागरिक हुन् भन्ने खुलाएको छैन ।

    यसअघि नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । थप भएको तीन जनासहित १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये एक जना निको भएर घर गइसकेका छन् ।

    ”पर्साको बिरगंज महानगरपालिका, वडा न. 2, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ।

    उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।” मन्त्रालयले फेसबुक पेजमा उल्लेख गरेको छ ।

    वीरगञ्जमा खोई सतर्कता ? र्‍यापिड टेष्ट किट केका लागि ? शिर्षकमा अनलाइनखबरले लेखेकाे समाचार यस्ताे छ..
    तीनजना भारतीय जमातीलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ वीरगञ्जमा सरोकारवाला निकाय जसरी सक्रिय हुनुपर्ने हो, त्यो नदेखिएको पाइएको छ । औपचारिकरुपमा सञ्चार माध्यमलाई नबताए पनि नारायणी अस्पतालमा शनिबार राति ८ बजे नै तीनजना भारतीयमा पोजेटिभ देखिएको खबर आएको थियो । त्यसयता छपकैयास्थित दुईवटा मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राख्ने बाहेक अन्य काम केही भएको छैन ।

    कोरोना संक्रमित बिरामीलाई राख्ने कोभिड अस्पताल वीरगञ्जमा छैन । आइसोलेसनमै राखेर उपचार गर्नुपर्ने बाध्यता छ । प्रदेश २ सरकारले महानगरपालिकामा पीसीआएर मेसिन दिने र कोभिड अस्पताल बनाउन सहयोग गर्ने भने पनि त्यो कार्यान्वयन भएको छैन । यस्तो अवस्थामा कोरोना संक्रमित भेटिएको सूचना लामो समयसम्म बाहिर नल्याउँदा जोखिम बढेको नारायणी अस्पतालका चिकित्सकहरु बताउँछन् । उनीहरु कसरी अगाडि बढ्ने भन्ने सन्दर्भमा छलफलमा बसेका छन् ।

    चिकित्सक संघ नारायणीका अध्यक्ष डा अरुण सिंह भने चाँडै एक्सनमा जानुपर्नेमा सूचना लुकाउँदा चिकित्सक स्वयं अप्ठ्यारोमा परेको बताउँछन् । ‘औपचारिक जानकारी राति नै आएपछि त्यसलाई सार्वजनिक गर्नुपर्ने हो, त्यसले मानिसलाई सतर्क रहन मद्दत पुग्थ्यो’ डा सिंहले अनलाइनखबरसँग भने ‘हामीलाई सार्वजनिक नगर्नू, पहिला मन्त्रालय नै डिक्लियर गर्छ भनिएको छ । तर लामो समयसम्म सार्वजनिक गरिएन । यसले हामी अप्ठ्यारोमा परेका छौं ।’

    कोरोना संक्रमण फैलन नदिन जुन किसिमको तयारी हुुनुपर्ने हो, त्यो नदेखिएको उनले बताए । ‘चिकित्सक, स्वास्थ्यकर्मी र समुदाय सबै जोखिममा छन्,’ उनले भने ‘अब के गर्ने, कसो गर्ने भनेर चिकित्सकहरु छलफल गर्दैछौं ।’

    कोरोनाले छपकैया क्षेत्रमा समुदाय नै प्रभावित हुन सक्नेतर्फ ध्यान दिँदै आसपासको ठाउँ शील गर्ने र छिटोभन्दा छिटो स्क्रिनिङ र टेष्ट गर्नुपर्ने नारायणी अस्पतालका अर्का चिकित्सक डा. उदयनारायण सिंह बताउँछन् । ‘जुन ठाउँका मानिस संक्रमित भएका छन्, त्यो आसपासको क्षेत्रलाई शील गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ गरेर परीक्षणको दायरामा ल्याउन सक्नुपर्छ । अन्यथा समुदायमै खतरा आउन सक्छ ।’

    नारायणी अस्पतालमा एउटा मात्रै भेन्टिलेटर छ । चारवटा आईसीयूको प्रबन्ध छ भने आइसोलेसन वार्ड २५ बेडको छ । नारायणी अस्पतालमा ३ सय थान र्‍यापिड टेष्ट किट आएको छ, जिल्ला जनस्वास्थ्य कार्यालय र नेशनल मेडिकल कलेजलाई १/१ सय थान र्‍यापिड टेष्ट किट प्रदान गरिएको छ । तर संक्रमित फेला परेको गाउँमा परीक्षण शुरु गरिएको छैन ।

    जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर टेष्ट किट आए पनि सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी फिल्डमा जान सक्ने अवस्था नरहेको बताउँछन् । ‘जन स्वास्थ्यमा सय थान र्‍यापिड टेष्ट किट आएको छ । तर व्यक्तिगत सुरक्षा उपकरण नहुँदा स्वास्थ्यकर्मी साथीहरु फिल्डमा जान सक्ने अवस्था छैन,’ ठाकुरले भने, ‘स्वास्थ्यकर्मीले व्यक्ति-व्यक्तिलाई गएर भेट्नुपर्ने हुन्छ, उनीहरु स्वयं जोखिममा रहने भएकोले सुरक्षा सामाग्री आएपछि काम गर्न सकिन्छ ।’

    नारायणी अस्पतालमा कोरोना संक्रमित र आइसोलेसनमा रहेका बिरामीको उपचारमा संलग्न चिकित्सकलाई बस्न होटलको व्यवस्था मिलाइएको छ । वीरगञ्जको आदर्शनगरस्थित होटल कन्ट्री ईनमा उनीहरुलाई बस्ने व्यवस्था मिलाइएको छ ।

    तीन/तीनजना चिकित्सक, नर्ससहितका तीनवटा टीम उपचारमा संलग्न छन् । उनीहरुलाई ३० वटा कोठा भएको होटल कन्ट्री ईनमा बस्ने व्यवस्था मिलाइएको होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष बुद्धिबहादुर पन्तले जानकारी दिए ।

    उनी त्यो होटलका सञ्चालकमध्येका एक हुन् । शनिबारदेखि नै चिकित्सक, स्वास्थ्यकर्मी राख्ने भनिए पनि खानाको प्रबन्ध गराउन नसक्ने भनेपछि समस्या भएको थियो । तर, अध्यक्ष पन्तले चिकित्सकलाई होटलमै खानाको प्रबन्ध मिलाउने व्यवस्था मिलाइसकिएको बताए ।

    कोरोनाभाइरसका कारण १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाए, ६ सय ६५ जना संक्रमित
    कोरोना भाइरस( कोभिड १९) को संक्रमणबाट १४ जना गैरआवासीय नेपालीले ज्यान गुमाएका छन् । शनिवार साँझसम्म १४ जनाले ज्यान गुमाएको एनआरएनए उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जनाए ।

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाका कारण प्रभावित बनेका नेपालीको अवस्था बुझ्न गैर आवासीय नेपाली संघले उच्चस्तरीय समिति गठन गरेको थियो । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोनाका कारण सबैभन्दा धेरै नेपालीले बेलायतमा ज्यान गुमाएका छन् भने दोस्रोमा अमेरिका रहेको छ ।

    बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको प्रेस संयोजक शर्माले जनाए । त्यस्तै ६ सय ६५ जना गैरआवासीय नेपाली कोरोना संक्रमणबाट पीडित रहेका छन् ।

    स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । समितिले विदेस्थित नेपाली राजदूतावास, एनआरएनएका विभिन्न समितिहरुको समन्वयमा तथ्यांक संकलन गरिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्