manu
वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएर प्रजातन्त्र प्राप्ति भएपछि मात्रै नेपालमा चिया खेतीका लागि वातावरण बन्दै गयो । वि.सं. २०१६ मा झापाको रङ्गियाडाँडामा बुधकरण चिया बगानको नाममा नीजि स्तरमा पहिलो चिया बगान स्थापना गरियो । त्यसैगरि सरकारी स्तरमा वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भयो । सुरुवाती चरणमा प्रशोधन कारखानाको अभावमा दार्जिलिङकै कारखानाहरुमा हरियो पत्ती बेच्नु पर्ने बाध्यता थियो । तर २०३५ सालमा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा प्रशोधन कारखाना खोलियो ।
वि.सं. २०३५ देखि २०४५ को एक दसकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रत्साहनका कार्यक्रमहरू गर्यो । विस्तारै विस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो । चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई मध्यनजर गर्दै वि.सं. २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो । चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारी स्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो । फलस्वरूप वि.सं.२०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
चियाखेतीको वर्तमान अवस्था
२०५७ सालमा सरकारले राष्ट्रिय चिया नीति ल्यायो । सरकारले चिया प्रवद्र्धनमा लागि बनाएको चिया तथा कफि विकास बोर्ड राजनीतिक दलका कार्यकर्ता भर्ति केन्द्र जस्तो मात्रै बनेको छ । चियाको विश्व बजारमा ठूलो माग हुँदा पनि नेपालले अपेक्षित लाभ लिन सकेको छैन । विश्ब बजारमा ४ करोड किलोग्रामभन्दा बढि चियाको माग छ । करिब ९० लाख किलोग्राम चिया दार्जिलिंगले उत्पादन गरिरहेको छ । नेपालबाट करिब ३० लाख किलाग्राम मात्रै उत्पादन हुने गरेको आंकडा छ । नेपालको भौगोलिक अवस्था र वातावरण चिया खेतीका लागि उपयुक्त भएपनि नेपालले चिया खेतीबाट खासै लाभ लिन सकेको छैन ।
#एजेन्सि