Skip

News Portal

  • ट्रम्पले लगाए ग्रिन कार्डमाथि प्रतिबन्ध, दिए सबैलाई चकित पार्ने अभिव्यक्ति

    कर्नालीसंचार संवाददाता
    ६६६ पटक

    काठमाडौं । अमेरिकाले आप्रवासीहरुमाथि थप कडाई गरेको छ । उसले ग्रीनकार्डको आवेदनमा दुई महिनाका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । ह्वाइटहाउसमा नियमित पत्रकार सम्मेलनमा अमरीकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेरोजगार अमेरिकीहरुलाई ध्यान दिँदै इमिग्रेशनमा ६० दिनको प्रतिबन्ध लगाइएको घोषणा गरेका हुन् ।

    यो निर्णयमाथि अधिकारीहरुले मूल्यांकन गरी पछि परिवर्तन गर्न सकिने तर त्यसका लागि देशको अर्थव्यवस्थामा भरपर्ने पनि उनले शर्त राखेका छन् । नियमित प्रेस ब्रिफिङमा ट्रम्पले भनेका छन्, ‘यो आदेश अमेरिकामा स्थायी रुपमा बस्न चाहनेहरुमाथि लागु हुन्छ र अस्थायी रुपमा काम गर्न अमेरिका आउनेहरुका लागि लागु हुँदैन ।

    अझै पनि कतिपय यही देशमै रहनुपर्ने अवस्था रहेको बताउँदै ट्रम्पले अमेरिकामा स्थायी बसोबास गर्ने नयाँ आप्रवासीहरुमाथि ६० दिनपछि प्रतिबन्ध लगाउने कि नलगाउने भन्ने कुरा अमेरिकी अर्थ व्यवस्थामा निर्भर गर्ने बताएका छन् ।

    उनले भनेका छन्, ‘यदि आवश्यक परेमा यसलाई ३० दिनका लागि या त्योभन्दा पनि धेरै समयसम्म बढाउन पनि सकिन्छ ।’ अमेरिकीहरुको रोजगारी रक्षा गर्नुपर्ने पहिलो प्राथमिकता भएकाले आप्रवासीहरुलाई रोक लगाउन आवश्यक रहेको ट्रम्पको भनाइ छ ।

    ट्रम्पले भने, ‘अमेरिकामा विदेशीहरुलाई बस्न रोक लगाउनका लागि कार्यकारी आदेश जारी हुँदैछ । भोलिसम्ममा तयार भएर हस्ताक्षरका लागि आउने छ । यो आदेश कठोर हुने छ ।’ यद्यपि यो कार्यकारी आदेशमा केही छुट पनि हुन सक्ने ट्रम्पले बताए । आप्रवासी किसानहरुको बारेमा सोधिएको एक प्रश्नमा ट्रम्पले यस आदेशले किसानहरुलाई असर नगर्ने बताए ।

    ‘पहिले अमेरिकी जनतालाई प्राथमिकता दिनुपर्छ,’ ट्रम्पले भने, ‘कोरोना भाइरस संक्रमणको प्रभावका कारण अहिलेसम्म लाखौं अमेरिकीको रोजगारी गुमेको छ । त्यसैले ती अमेरिकीहरुको रोजगार सुनिश्चित गर्ने सरकारको नैतिक कर्तव्य हो ।’

    ट्रम्पले भनेका छन्, ‘अमेरिकीले जागिर गुमाउने र त्यो स्थानमा आप्रवासीलाई जागिर दिने कुरा गलत र अन्यायपूर्ण हुन्छ । हामी हाम्रा अमेरिकी जनतालाई बचाउन चाहान्छौं र हामी उनीहरुप्रति रक्षात्मक बन्दै जानेछौं ।’

    प्रतिकृया दिनुहोस्