Skip

News Portal

  • नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक, अध्यादेशबारे छलफल हुने

    कर्नालीसंचार संवाददाता
    ३६८ पटक

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएका २ वटै अध्यादेशबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक आगामी वैशाख १७ गते दिउँसो १ बजे बोलाइएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएको छ ।

    बुधबार नै कांग्रेसले संसदमा रहेका विपक्षी दलहरुको सामूहिक बैठक आह्वान गरेको थियो । बैठकले सरकारले जारी गरेका अध्यादेशहरु संविधानको मर्म विपरितको भएको भन्दै तत्काल फिर्ता लिन माग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सामाजिक दूरी कायम गर्ने व्यवस्थासहित संसद बैठक बोलाउन समेत माग गरेको छ ।

    नेपाली कांग्रेसका युवा नेताहरुले प्रधानमन्त्रीसँग अब सरकारको नेतृत्व गरेर बसिरहने नैतिक आधार बाँकी नरहेको निश्कर्ष निकालेका छन् । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै कांग्रेस युवा नेताहरुले संविधान बनाउँदा अत्यन्त सुझवुझका साथ राखिएको प्रावधानहरूलाई भत्काएकाले सत्तामा रहने नैतिकता प्रधानमन्त्री केपी शर्मा ओलीसँग नभएको ठहर गरेका हुन् ।

    सरकारको निर्णयपछि राष्ट्रपतिले जारी गरेका दुवै अध्यादेश कुनै दल विशेषको विषय वा कानून परिमार्जनको विषयमा मात्र सिमित नभई संविधानले परिकल्पना गरेको सिंगो राजनीतिक व्यवस्थामाथि प्रहार भएको उनीहरुको भनाइ छ ।

    ११ युवा नेताहरुले वक्तव्य मार्फत् सोधेका छन्, “संविधानले व्यवस्था गरेको संवैधानिक परिषदको नियुक्तिको प्रावधानलाई संविधानकै खिलाप हुनेगरी अध्यादेश ल्याउने अधिकार सरकारलाई कसरी भयो ? के मनसुवाका साथ त्यो प्रावधान हटाइयो ?”

    कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ्ग, रत्ना शेरचन, गगन कुमार थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव, सरिता प्रसाइले जारी गरेको वक्तव्यमा संविधानलाई कुल्चेर ल्याइएको जालझेल र षडयन्त्रपुर्ण अध्यादेश प्रधानमन्त्रीको आफ्नो स्वार्थ पूर्ति गर्न र आफ्नो महत्वकांक्षा पूरा गर्नको लागि हो भन्ने प्रष्ट भइसकेको उल्लेख गरिएको छ ।

    उनीहरुले संवैधानिक अंगहरूमा कब्जा गर्ने मनोकांक्षाका साथ कार्यकारी व्यक्तिको चाहना वा निर्णयबाट संवैधानिक निकायको नियुक्ति गर्ने प्रावधानहरूले संवैधानिक निकायको स्वायत्ततामाथिको निर्मम प्रहार, संविधानले व्यवस्था गरेको सन्तुलन र नियन्त्रणको समेत पूर्णत वर्खिलापमा रहेको जनाएका छन् ।

    वक्तव्यमा लेखिएको छ, “जनताले गरेको वलिदानवाट प्राप्त संविधान न कुनै नेता, गुट वा पार्टी विशेषको सत्ता लिप्साका निम्ति थियो नत यो कुनै व्यक्तिको लहड र सनकको अस्त्र बनाउनका लागि हो ।”

    प्रतिकृया दिनुहोस्