Skip

News Portal

  • शसस्त्र द्धन्द्धका हतियार लुकाइएका भन्ने कुरा प्रचण्ड संग गएर बुझ्न सकिन्छ-उदय चलाउने

    कर्नालीसंचार संवाददाता५ मंसिर
    ५०१ पटक
    ५ मंसिर

    तत्कालीन नेकपा (माओवादी) को जनयुद्धको अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पूरा भएको छ । शान्ति सम्झौता पश्चात् देशको राजनीति पूरै बदलियो । माओवादीबाट छुट्टिएर नेत्रविक्रम चन्दले छुट्टै पार्टी गठन गरे ।
    दुई वर्षसम्म सो पार्टी भूमिगत भएर खुला राजनीतिमा फर्किएको छ । दुई वर्ष भूमिगत हुँदा बनाइएको सैन्य फाँटका इन्जार्ज केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले मुद्दा फिर्ता र बन्दी रिहाइमा सरकारले अलमल गरे मुठभेडको स्थिती निम्तिन सक्ने बताएका छन् । कान्तिपुरसँग गरेको कुराकानीः
    सरकार–नेकपा तीनबुँदे सहमतिमा तपाईंहरूमाथिका मुद्दा फिर्ता गर्ने र बन्दी रिहाइ गर्ने भनिएको थियो, तर प्रक्रिया किन पूरा हुन सकेन ?

    यो त सरकारको गैरजिम्मेवारी र उत्तरदायित्व अभावको कारण हो ।
    सरकार सहमतिबाट पन्छियो भन्ने निष्कर्ष हो तपाईंहरूको ?

    अवश्य, सरकारले प्रतिबद्धता अनुसार काम गरेको छैन ।

    तपाईंहरूलाई सरकारले अझै शंका गरिरहेको देखिन्छ नि ?

    त्यो पनि भन्न मिल्ला । तर, हामीले भन्दा सरकारमा सहमति पालनामा इमानको अभाव देखियो ।

    तपाईंहरूले हतियार नबुझाएका कारण सहमति कार्यान्वयनमा जटिलता आएको भनिन्छ नि ?

    हतियारको प्रसंग बहाना मात्र हो । हामीले अग्रगमनको कुरा गर्‍यौं । सरकार अग्रगमनका कुरा सुन्न पनि चाहँदैन ।

    सुरक्षा निकायबाट द्वन्द्वकालमा लुटिएका थुप्रै हतियार फिर्ता भएनन्, ती कहाँ छन् अहिले ?

    सेना समायोजन नभएको भए हतियारबारे प्रश्न उठाउन सकिन्थ्यो, तर समायोजन भइसकेपछि अब यो विषय उठाउनुको कुनै औचित्य छैन । अर्को कुरा हरेक युद्धमा प्रयोग भएका सबै हतियार नभेटिन सक्छन् । फेरि, यो हामीसँग सरोकारका विषय पनि होइन ।

    लुटिएका हतियार तपाईंहरूसँग पनि छन् भन्ने छ नि ?

    यस विषयमा प्रचण्डले खोलाले बगायो पनि भन्नुभयो । खोलाले बगायो कि, हावाले उडायो वा कसैले थन्क्याएर/थुपारेर राखे, त्यसमा हाम्रो कुरै सरोकार छैन । जसले सेना समायोजन गरे, उनीहरू(प्रचण्ड)सँगै सोध्नुपर्छ ।

    नेकपा हतियारविहीन दल हो त ?

    सामान्य रूपमा भन्नुपर्दा त्यही हो ।

    करिब दुई वर्ष तपाईंहरूमाथि प्रतिबन्ध लगाउँदा नेता–कार्यकर्ताबाट प्रहरीले करिब एक सय थान हतियार बरामद गरेको थियो, ती कहाँबाट आए त ?

    ती हतियारसँग हाम्रो कुनै सम्बन्ध छैन ।

    सरकारले सर्त राखेर सहमति कार्यान्वयन भएन भने के गर्नुहुन्छ ?

    त्यस्तो भयो भने त झडपको स्थिति आउन सक्छ । संघर्षमा जानुको विकल्प हुँदैन । त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्छ । अझै पनि हाम्रो आग्रह छ कि सरकारले मुठभेडको वातावरण नबनाओस् ।

    तपाईंहरूले शान्तिपूर्ण राजनीतिको कुरा गर्नुभएको छ, तर पार्टीभित्र सैन्य संरचना पनि बनाउनुभएको छ, यो स्वाभाविक हो र ?

    परिआउँदा, आवश्यकता पर्दा भोलि युद्धकै स्थितिमा जानुपर्ने भयो भने छुट्टै कुरा भयो । तर अहिले हाम्रो कुनै सैन्य संरचना छैन ।

    #कान्तिपुर दैनिकबाट साभार

    प्रतिकृया दिनुहोस्