News Portal

  • आगलागीमा परी ६ को ज्यान गयो

    कर्नालीसंचार संवाददाता२ बैशाख
    १२६ पटक
    २ बैशाख

    डोल्पा । लगातारको डढेलोबाट डोल्पामा गएको एक सातामै ६ जनाको ज्यान गएको छ । वनमा लागेको डढेलो निभाउने क्रममा डढेर घाइते भएका नेपाली सेनाका तीनजना र च्याउ टिप्न गएका तीन बालक गरी ६ जनाको ज्यान गएको हो । एकजना सिकिस्त घाइते छन् ।

    गुच्ची च्याउ टिप्न गएका तीन बालक २९ चैतमा त्रिपुरा सुन्दर नगरपालिका– ४ स्थित सुँ सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका थिए । १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको शनिबार काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा ज्यान गयो भने सोही घटनामा घाइते भएका १० वर्षीय सुलस बुढाको ३० चैतमा जिल्ला अस्पताल डोल्पामा उपचारका क्रममा मृत्यु भएको थियो ।

    तीन बालकको ज्यान जाने गरी भएको घटनाको तीन दिनअघि मात्र डढेलोबाट डोल्पामै तीन सैनिकको ज्यान गएको थियो । २६ चैतमा ठूलीभेरी नगरपालिका– ४ स्थित मस्टा सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका सेनाको देवीदत्त गुल्म ‘क’मा कार्यरत सैनिकहरु घाइते भएका थिए ।

    जुम्लाका सिपाही हेमन्त रावल , २३ वर्षीय जवान आशिष बुढा र काभ्रे घर भएका ३८ वर्षीय जमदार केशरबहादुर जर्गामगरको मृत्यु भएको थियो । रावलको जिल्ला अस्पताल दुनैमा तथा बुढा र मगरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

    त्यस्तै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत घाइते सुर्खेत जरबुटाका प्युठ विजय कोइरालाको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि खतरामुक्त नभएको चिकित्सकले जनाएको आजको नयाँ पत्रिका प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस्